नेपाल प्रहरीको ३१औं महानिरीक्षक दीपक थापा : इन्स्पेक्टरदेखि आईजीपीसम्म

अन्य दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा नेपाल प्रहरीको प्रमुख नियुक्त भएका छन् ।

Advertisement 1

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । थापाले मंगलबार दर्ज्यानी चिह्न लगाएसँगै ७९ हजार प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख थिए । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ आईजीको प्रतिस्पर्धामा थिए ।

Advertisement 2

आईजी नियुक्त भएका थापाले २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रूपमा चिनिन्छन् ।

२०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ को मन्त्रिपरिषद् बैठकबाट एआईजीमा बढुवा भएका थिए ।

Advertisement 3

इन्स्पेक्टरको बेसिक तालिम सकेपछि इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख भएर थापाले काम गरेका थिए ।

नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ । सशस्त्र द्वन्द्वमा थापाले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा काम गरेका थापाले इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरे ।

डीएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङको २ वर्षसम्म कमान्ड गरेका उनले बाबुराम भट्टराई हुँदा प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार र प्रहरी वृत्त महाराजगञ्जको प्रमुखको रूपमा काम गरेका थिए ।

महाराजगञ्ज वृत्तमा १९ महिनासम्म कमान्ड गरेका थापाले इलाका प्रहरी कार्यालय बुटवलमा पनि इन्चार्ज भएर काम गरे । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा काम गरेको अनुभव थापाँग छ ।

एसपीमा बढुवा भएपछि थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरको, बुटवल कार्यालयमा रहेर प्रहरी प्रमुखको रूपमा गरे । एसपीमै रहँदा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी मुख्यालयको बजेट शाखामा रहेर थापाले काम गर्ने मौका पाए ।

एसएसपी बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को प्रमुख भएर काम गरेका थापाले डीआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालय, बागमती प्रदेश प्रहरी प्रमुख रहेर काम गरेको अनुभव सँगालेका छन् ।

थापाले एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख र सीआईबी प्रमुख भएर उनले काम गरे ।

प्रकाशित : ७ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs