किन भत्काइँदैछ निर्माण अन्तिम चरण पुगेको ‘ग्वार्को फ्लाइओभर’ ?

निर्माण अन्तिम चरणमा पुगेको ललितपुरस्थित ‘ग्वार्को फ्लाइओभर’ को केही भाग भत्काइएको छ ।

Advertisement 1

फ्लाइओभरको काम निरीक्षण गर्दा केही भागमा मापदण्ड नपुगेको पाइएसँगै भत्काउन निर्देशन दिइएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

‘मापदण्ड नपुगेको पाइएपछि प्रिकास्ट प्यानलतर्फको केही भाग भत्काउन लगाइएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले पुनः मापदण्ड पूरा गरी निर्माण गर्छ ।’

Advertisement 2

यसरी पुनर्निर्माण गर्दा पनि निर्माण कम्पनीले तोकेको अवधिभित्रै आयोजनाको काम सक्नुपर्ने उनको भनाइ छ । सुरुमा पर्खाल खडा गरी माटो भरेर काम अगाडि बढाउँदा पर्खाल नै चर्किएर भत्किन थालेको सडक विभागले जनाएको छ ।

 

Advertisement 3

जसका कारण सातदोबाटो तर्फको पर्खाल भत्काउनु परेको महानिर्देशक पोखरेलले बताए । यहाँ ३० देखि ४० मिटरसम्म पर्खाल भत्काएर पुनर्निर्माण गर्नुपर्ने देखिएको समेत उनले जानकारी दिए ।

पटक–पटक अवरुद्ध हुँदै निर्माण हुँदै गएको फ्लाइओभरको काम ८० प्रतिशतभन्दा माथि पुगेको छ । निर्माण कम्पनीले पाएको अवधि गत मंसिरमै सकिएको थियो ।

त्यसयता २ सय दिन निर्माण कम्पनीले जरिबाना तिरेरै भए पनि निर्माणको बाँकी काम सक्नुपर्ने सम्झौता छ । जरिबाना लगाउँदा निर्माण पक्षले चैतसम्म काम सक्ने अनुमान गरिएको थियो । तर, पुनर्निर्माण समेत गर्नुपर्ने भएसँगै यो अवधि लम्बिने भएको छ ।

 

यो आयोजनाको सुरुवाती अवधि भने फागुन २०८० सम्म थियो । आयोजना आशिष/समानान्तर/रेलिगेर जेभीले बनाइरहेको छ । यसअघि सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले पटक–पटक परीक्षण गरेर दुःख दिएको भन्दै निर्माण कम्पनीले केही समय काम समेत रोकेको थियो ।

  • यो पनि पढ्नुहोस
    सकिनुपर्ने बेलामा बल्ल सुरू भयो ग्वार्को ओभरपासको काम
    तर, केन्द्रको अनुगमन–परीक्षण र निर्माण कम्पनीको दाबीबीच पर्खाल चर्किन थालेसँगै फ्लाइओभरको केही भाग भत्काउनु परेको हो । ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्ट्रक्सन’ (ईपीसी) मोडेलमा यो आयोजनाको ठेक्का लागेको हो । जसमा डिजाइनदेखि निर्माणसम्मको काम पर्छ ।
प्रकाशित : ११ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs